नेपालमा थप ७ जनाको कोरोना भाइरसका कारण निधन

नेपालमा थप ७ जनाको कोरोना भाइरसका कारण निधन

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार भएको ७ जनाको निधनसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २२८ पुगेको जानकारी दिए ।

यसअघि आइतबार कोरोनाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको थियो । सोमबार पुष्टि गरिएका ७ मृतकमध्ये महोत्तरीकी ४ वर्षीया बालिकासहित तीन जना महिला रहेका छन् । गोरखाकी ६२ वर्षीया र रूपन्देहीका ६८ वर्षीया महिलाको पनि गएको २४ घण्टामा निधन भएको छ ।

सो अवधिमा निधन हुने पुरूषहरूमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय व्यक्ति रहेका छन् । देशभरि रहेका १७ हजार ८२२ सक्रिय सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका १३२ जना सघन उपचार कक्षमा र १६ जना भेन्टिलेटरमा उपचारारत् छन् । नेपालमा कूल सङ्क्रमितमध्ये अहिलेसम्म ५४ प्रतिशत निको भइसकेका छन् ।

ब्रेकिङ्ग स्वास्थ्य