नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै सङ्क्रमित व्यक्तिहरूको कूल सङ्ख्या ३९ हजार ४६० पुगेको जानकारी दिए ।

उनकाअनुसार देशभर आज महिला ३०६ र पुरूष ५९६ जना थपिएका हुन् । डा. गौतमले बताएअनुसार सोमबार देशभर जम्मा ११ हजार १२९ जनाको पिसिआर गरिएको थियो । आजसम्म पनि देशभरका क्वारेन्टाइनमा ७ हजार ३३७ जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ जना छन् ।

तीमध्ये १० हजार ७०१ जना संस्थागत आइसोलेशनमा र बाँकी ७ हजार १२१ जना घरमै रहेका छन् । अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन् ।

ब्रेकिङ्ग स्वास्थ्य