ओली र दाहालबीचको शक्तिसङ्घर्ष भागबण्डामा टुङ्गिएपछि मन्त्री फेरबदलको गृहकार्य तिब्र

ओली र दाहालबीचको शक्तिसङ्घर्ष भागबण्डामा टुङ्गिएपछि मन्त्री फेरबदलको गृहकार्य तिब्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद अन्त्यका लागि गठित कार्यदलको सुझावबमोजिम पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको शक्ति सङ्घर्ष अन्ततः भागबण्डामा पुगेर टुङ्गिएको छ । अध्यक्षद्वयबीचको शक्ति सङ्घर्ष भागबण्डामा टुङ्गिएपछि अहिले सरकारमा मन्त्रीहरूको फेरबदलको गृहकार्य भइरहेको वालुवाटार स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार ओलीको नेतृत्वमा सरकार बनेको साढे २ वर्ष भइसकेको र धेरैजसो मन्त्रीको कार्यकाल पनि २ बर्ष नाघेकाले संघीय सरकारमा अधिकाँश मन्त्रीहरू फेर्न प्रधानमन्त्रीमाथि दबाब छ । त्यसमाथि शहरी विकास र सूचना तथा सञ्चार मन्त्रालय ७ महिनादेखि कामचलाउ मन्त्रीको भरमा छन् । त्यसबाहेक अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिन अब एक साता मात्रै बाँकी छ ।

त्यसैले सम्भवतः यसै साता मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने स्रोतको दाबी छ । तर, मन्त्रीहरूको टिम नै फेर्ने कि भाग मिलाएर केहीलाई हटाउने र केहीलाई भित्र्याउने भन्ने चाहीँ अहिले नै टुङ्गो लागिनसकेको बताइएको छ । सरकारको कार्यशैलीप्रति पार्टीभित्रै चर्को असन्तुष्टी र कार्यदललेसमेत मन्त्रीहरू फेरबदल गर्न सुझाव दिइसकेकाले प्रधानमन्त्री ओली दबाबमा छन् ।

त्यसमाथि भागबण्डाकै लागि नेकपा नेतृत्वका ६ वटा प्रदेशमध्ये केही मुख्यमन्त्री र मन्त्रीहरू हेरफेरको तयारी छ । तर, प्रदेशमा चुनाव जितेकालाइ केन्द्रमा मन्त्री बनाउन नमिल्ने भएकाले पार्टी जिम्मेवारी हेरफेर गरेर मिलाउने विकल्पमा पनि नेताहरू छलफलमा छन् । यद्यपि कुन प्रदेशका मुख्मन्त्री फेरबदल गर्ने भन्नेमा कुरा मिल्न भने बाँकी छ ।

प्रधानमन्त्री ओलीलाई निरन्तरता नै दिने भएपछि अध्यक्ष दाहाल पार्टीमा बलियो हुने र सरकारमा थप साझेदारी खोजिरहेका छन् । त्यसबाहेक वरिष्ठनेता माधवकुमार नेपाल पक्षले पनि यसपाली राम्रै भाग पाउने सम्भावना देखिएको छ । तर, कमजोर कार्यशैली देखिएकालाई मात्रै वा २ बर्षे कार्यकाल पुरा गरेका सबलाई बिदा गर्ने कि मन्त्रीहरूको पुरै सेट नै फेर्ने भन्नेमा नेतृत्वबीच बहस नै चलिरहेको जनाइएको छ ।

ब्रेकिङ्ग राजनीति