नेपालमा ‘कन्ट्याक्ट ट्रेसिङ’ किन हुन सकेन प्रभावकारी ?

नेपालमा ‘कन्ट्याक्ट ट्रेसिङ’ किन हुन सकेन प्रभावकारी ?

काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड- १९)बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या दिनप्रतिदिन उच्च गतिमा देखिएपनि भाइरस नियन्त्रणमा महत्त्वपूर्ण हतियार ठानिने ‘कन्ट्याक्ट ट्रेसिङ’ प्रभावकारी हुन सकेको छैन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन ठूलो सङ्ख्याको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ कोरोना भाइरस नियन्त्रणको भरपर्दो र अचुक अस्त्र रहेको बताउँछन् । ‘मुलुकका विभिन्न स्थानमा सङ्क्रमण समुदायमा सरिसकेको उदाहरणहरू छन्,’ उनले भने, ‘तर, नेपालमा त्यसको प्रमाण दिनसक्ने अवस्था छैन् । प्रमाण परीक्षण र कन्ट्याक्ट ट्रेसिङले नै दिने हो ।’

सरकाले सङ्क्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्नका लागि भन्दै देशभरि १ हजार ७५ टोली व्यापकरूपमा परिचालित भएको जनाएको छ । तर, कन्ट्याक्ट ट्रेसिङ समयमै गर्न सके मात्रै प्रभावकारी हुने विज्ञको भनाइ छ । ‘हाम्रोजस्तो समाजमा कन्ट्याक्ट ट्रेसिङ गरिसकेपछि चाँडो परीक्षण गर्न सक्नुपर्छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूलाई आइसोलेशनमा राखिनुपर्छ,’ डा पुनले भने । सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि स्थानीय तहहरूलाई बढी जिम्मेवारसमेत बनाएको छ । तर, विज्ञताकासाथै आवश्यक स्रोतसाधनको कमीका कारण त्यसतर्फ अग्रसर हुन उनीहरूलाई गाह्रो परेको बताइन्छ । एक जना सङ्क्रमित हुँदा कम्तीमा १० देखि १२ जनालाई सम्पर्क गर्नुपर्ने हुनसक्ने सरकारी आकलन छ ।

हालसम्म काठमाडौँमा मात्रै ४ हजारभन्दा बढी सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाँएको छ । ‘सङ्क्रमितहरूको सम्पर्कमा आएका करिब १० हजार जनाको पहिचान गर्ने काम सकिसकेका छौँ,’ स्वास्थ्य मन्त्रालयको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन् । उनले सङ्क्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्नका लागि देशभरि १ हजार ७५ टोली व्यापकरूपमा परिचालन गरिएको र त्यसका लागि आवश्यक बजेट विनियोजनका लागि स्वीकृति प्राप्त भइसकेको जानकारी दिए ।
कन्ट्याक्ट ट्रेसिङ गर्न र त्यसलाई निरन्तर पछ्याउनका लागि करिब २६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

‘हामीले अहिले सूक्ष्म ढङ्गले योजना बनाइरहेका छौँ,’ डा. पाण्डे भन्छन्, ‘प्रतिबन्धात्मक व्यवस्था कायम रहेकै अवस्थामा कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउने हाम्रो योजना हो ।’ यता, सङ्क्रमणको हटस्पट बन्दै गरेको काठमाडौँ महानगरपालिका- ३ मा हालसम्म दुइचरणमा गरी कन्ट्याक्ट ट्रेसिङमार्फत् पछिल्लोसमय ३९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको वडासचिव शान्ता पहाडी बताउँछिन् । ‘तर, कसैको पनि नतिजा पोजिटिभ आएन्,’ उनी भन्छिन् । सरकारले जारी गरेको निर्देशिकामै आधारित रहेर सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि कन्ट्याक्ट ट्रेसिङ गरिएकाहरूको परीक्षण गर्ने गरिएको उनको भनाइ छ ।

यस्तै, उपत्यकाकै अर्को जिल्ला भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका- ९ मा पनि हालसम्म २ दर्जनको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गरिएको जनाइएको छ । त्यहाँ स्थानीय बासिन्दा र डेरामा बस्नेहरूसहित करिब १० हजार जनाको बसोबास रहेको वडाध्यक्ष रामकाजी चक्रधरले जनाए । सङ्क्रमण फैलिरहेको अवस्थामा आफूहरूले ‘एक घर एक परीक्षण’ गर्न खोजेको भएपनि परीक्षण कीट प्राप्त गर्न नसक्दा समस्या परेको उनको दुखेसो छ । केही समयअघि द ल्यान्सेट इन्फेक्सियस डीजीजेजले प्रकाशन गरेको एउटा अध्ययनमा चीनको सेन्जेन सहरमा कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन एकान्तवास र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पहिचान निकै सहयोगी सिद्ध भएको उल्लेख गरिएको छ ।

अमेरिकास्थित युनिभर्सिटी अफ मिनेसोटाअन्तर्गतको सेन्टर फर इन्फेक्सीयस डीजीज रिसर्च एन्ड पोलीसीकाअनुसार उक्त अध्ययनका क्रममा सोधकर्ताहरूले ३९१ जना कोरोना भाइरसका बिरामी अनि निगरानी र कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीहरूका सम्पर्कमा आएका १ हजार २८६ व्यक्तिहरू पत्ता लगाइएको थियो । शोधकर्ताहरूकाअनुसार सेन्जेनमा गरिएको निगरानीले सङ्क्रमित व्यक्तिले समुदायमा सङ्क्रमण सार्नसक्ने सम्भावना २ दिनले पछि धकेलेको पाइएको छ ।

त्यस्तै, उनीहरूले कोरोना भाइरस फैलिन नदिने कुरामा कन्ट्याक्ट ट्रेसिङ र एकान्तवास प्रभावकारी रहेको तर त्यसको पूर्णरूपमा प्रभाव भने अस्पष्ट र लक्षणविनाका सङ्क्रमितहरूको सङ्ख्यामा निर्भर हुने बताइएको छ । नेपालमा भने कन्ट्याक्ट ट्रेसिङको कार्यमा सरकारको मात्रै भूमिका प्रभावकारी नहुने विज्ञको भनाइ छ । त्यस्तै परीक्षणका लागि नमुना दिएकाहरूले सङ्क्रमित भए सरह नै एकान्तवासमा बसिदिनुपर्ने र सहयोगी भूमिका निर्वाह गरिदिनुपर्ने डा. पाण्डेको भनाइ छ । ‘यसमा सर्वसाधारणले चासो दिनुपर्छ,’ उनी भन्छन्, ‘यस्तो जटिल कार्यमा एक हातले मात्रै ताली बजाउन गाह्रो हुन्छ ।’

ब्रेकिङ्ग स्वास्थ्य