भदौ १६ देखि हुने अन्तरराष्ट्रिय उडानका लागि सम्पूर्ण तयारी पूरा

भदौ १६ देखि हुने अन्तरराष्ट्रिय उडानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौँ । बन्दाबन्दीको पाँच महिनापछि यही भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान हुँदैछन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिका अनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ । पर्यटन मन्त्रालयले यही भदौ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तरराष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ ।

एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित १० विदेशी एयरलाइन्स गरी जम्मा १२ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्ने प्राधिकरणले जनाएको छ ।

सेप्टेम्बर १ देखि हुने नियमित अन्तरराष्ट्रिय उडान तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी भएको प्राधिकरणले जनाएको छ । नियमित अन्तरराष्ट्रिय उडानको तयारीमा विमानस्थल सम्पूर्ण रुपले जुटेको छ । त्यसोत, पाँच महिनादेखिनै विमानस्थल सुरक्षित उडानका लागि पूर्णतः तयारी अवस्थामा छ ।

सरकारले सहजैरुपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तरराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तरराष्ट्रिय उडान हुनेछ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) मापदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल लागू गरेको छ ।

यही भदौँ १६ देखि हुने नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गरिनेछ । अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

पर्यटन ब्रेकिङ्ग