संविधानले नागरिकका लागि सुनिश्चित गरेको मौलिक हकको वास्तविक अर्थमा प्रत्याभूत गराउन सञ्चारमार्फत अनवरत पहरेदारी गर्ने प्रणसहित साइनटच मिडिया प्रालिले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा आजदेखि सोसियलटचखबरडटकम औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ । राज्यका नीति-निर्माताहरू नै कृषि र पर्यटनको महत्वका बारेमा गम्भीररूपमा सम्वेदनशील र पर्याप्तरूपमा सचेत नभएको यस विषयमा आमनागरिकलाई जागरुक गराउनु र नीति-निर्माताको सोच तथा शैली बदल्नु आफैँमा जटिल र लामो यात्रा हुने निश्चित छ । कृषि र पर्यटन क्षेत्रप्रति प्रतिबद्ध विशिष्टीकृत सञ्चारमाध्यमले त्यसमा अवश्य पनि मजबुत इँटा थप्न सक्छन् भन्ने निष्कर्षसहित यो यात्रा प्रारम्भ गरिएको हो । निष्पक्ष र परिपक्व पत्रकारिता गर्ने अनलाइन सञ्चार माध्यमकारूपमा परिचय दिन र हतार अनि हचुवामा असंगत विषयवस्तु पस्कनु हुँदैन् भन्नेमा हामी दृढ छौँ । इन्टरनेटको प्रभुत्व स्थापित भएको आजको युगले आमनागरिक पत्रकार (सिटिजन जर्नालिज्म)को अवधारणालाई व्यापक बनाएको छ । अब नागरिकले पाएका सूचना छाप्न सञ्चारगृह धाउनुपर्ने युग समाप्त भइसकेको छ । सामाजिक सञ्जाल नै सूचना ब्रेकिङ गर्ने दिशामा क्रियाशील भइसकेको यो वर्तमान परिस्थितिमा ब्रेकिङको निरपेक्ष दौडमा सोसियलटचखबरडटकम कहिल्यै कसैसँग प्रतिष्पर्धा गर्ने छैन् । हामी तथ्यपरक, सन्तुलन र विश्वसनीयतालाई मूल मन्त्र बनाएर ‘केही ढिला भएपनि विश्वसनीयतामा चुक्नुहुँदैन्’भन्ने मर्मलाई आत्मसात् गर्दै अनलाइनका नाममा छिटो गर्ने होडबाजीका खातिर पत्रकारिताको धर्म, समाचारको वैधता, सामग्रीमाथिको विश्वसनीयता र भाषागत अनुशासनमा सम्झौता गर्ने धृष्टता कहिल्यै नगर्ने पक्षमा दृढ रहने छौँ । हामी कृषि र पर्यटन क्षेत्रका सूचना, नीतिको विश्लेषण, नीतिगत बहस, मार्गनिर्देशनसँगै आमनागरिकका यससँग जोडिएका मसिना विषयलाई पनि ‘फोकल लेन्स’ लगाएर सरलरूपमा बुझिने गरी पस्किने प्रण गर्दछौँ । कृषिलाई प्रमुख क्षेत्रकारूपमा विकास गरौँ ! यसलाई पर्यटनसँग जोडौँ !! अनि उत्पादन बढाउन कृषिमा संरचनागत सुधार !!! भन्ने मान्यतालाई हामी सदैव शिरोधार्य गरेर सोसियलटचखबरडटकमले प्रस्तुती पस्कनेछ । अहिलेको अवस्थामा अत्यधिक मात्रामा जग्गामा भएको खण्डिकृतले कृषि क्षेत्रमा अनुदान मात्रै दिएर उल्लेख्य उत्पादन वृद्धि सम्भव छैन् भन्ने ठम्याइबाट जग्गाको पुनर्संरचना गरिनुपर्छ र त्यसका लागि ‘कन्ट्रयाक्ट फार्मिङ’ वा ‘सामुदायिक फार्मिङ’ वा दुबै प्रकृतिका कृषि प्रणालीमा जानैपर्छ अनि दुवैमा लगानीकर्ताचाहिँ संगठित निजी क्षेत्रकै हुनुपर्छ भन्नेमा हाम्रो अभियान रहनेछ । राज्यले यहाँ उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्छ । जब-जब ‘कन्ट्रयाक्ट फार्मिङ’ वा ‘सामुदायिक फार्मिङ’को स्तर ठूलो हुँदै जान्छ त्यसमा प्रविधिको प्रयोग पनि बढ्दै जान्छ । जसले उत्पादन र उत्पादकत्व दुबै बढाउँछ । जमिनको हालकै खण्डिकृत अवस्थामा भने व्यावसायिक कृषि एउटा चर्को नारा मात्रै हुन जान्छ, तर उपलब्धिचाहिँ खासै हुन सक्दैन् भन्ने विषयमा हामी निरन्तर कलम चलाइरहनेछौँ । नेपालमा ८० प्रतिशतभन्दा बढि जनसङ्ख्या कृषिमा आधारित छ । ५० लाखभन्दा बढि युवा विदेशमा आफ्नो पसिना बगाइरहेका छन् । हालसम्म नेपालमा परम्परागत तरिकाले कृषिको काम ह्ँदै आएको छ । तर, केही मात्रामा युवा समुदायले आधुनिक तरिकाले नाफामुलक ब्यवसायकारूपमा कृषिलाई अपनाएको पनि देखिन्छ । युवा जमात कृषि प्रधान देशमा कृषि कर्मलाई अङ्गाल्दै गरेको स्थितिमा हाम्रो यो अभियानले यथार्थपरक ब्यावसायिक कृषिलाई सञ्चारक्षेत्रका माध्यमबाट भएपनि केही नयाँ जानकारीमूलक ज्ञान, प्रोत्साहन, सिकाइ होस् भन्ने हाम्रो ध्येय हुनेछ । हामी सफलरूपमा सञ्चालित कृषि फर्ममा भएका गतिविधि र केही विज्ञ व्यक्तित्वकासाथै अनुभवी कृषकका अनुभवहरू पनि समाचारको माध्यमबाट कृषि पेशामा सम्भावना देख्ने आम कृषकहरूमाझ पस्केर कृषि-पर्यटनको अवधारणा स्थापित गराउने दिशामा क्रियाशील हुनेछौँ । सहज तरिकाले गर्न सकिने राम्रो आम्दानी र आर्थिक रूपान्तरणको माध्यम हो, कृषि-पर्यटन । कृषि-पर्यटन व्यवसायले स्थानीयरूपमा नै रोजगारी सिर्जना गर्दछ अनि स्थानीय स्रोत-साधनको पहिचान, उपयोग, परिचालन र बजारीकरण गर्दछ। कृषि-पर्यटनको विकासले युवाशक्ति विदेशिनबाट धेरै हदसम्म रोक्छ भन्ने मान्यता स्थापित गराउनु अर्को चुनौति हुनेछ । नेपालमा कृषि-पर्यटनको आयाम एवं क्षेत्रमा व्यवसाय र बजार अथाहा छ भन्ने मार्गदर्शन गर्न हामी प्रयासरत् रहनेछौँ ।
निजी र सरकारी क्षेत्र मिलेर, नयाँ शिराबाट कृषि र पर्यटन मिलाएर कृषि-पर्यटनको विकासबाट नै देशको समृद्धि सम्भव छ र कृषि-पर्यटनबाट नै नेपालको रूपान्तरण हुनेछ भन्ने आभाष युवा पुस्तामाझ व्यापक बनाउने हाम्रो प्रयास हुनेछ । समृद्ध नेपाल बनाउन अब कृषि-पर्यटन नै हो । आत्मनिर्भर अर्थतन्त्रको जग नै कृषि र पर्यटन हुनेछ । कृषि र पर्यटनमा विकास भएमात्र समृद्धि हासिल हुनसक्ने भनाइ स्थापित गर्ने पहल हाम्रो हुनेछ । कृषि र पर्यटनका लागि अब सरकारले आफ्नो पहिलो प्राथमिकतामा राखेर ‘नमूना मोडल परियोजना’ बनाउनुपर्छ र निजी क्षेत्रसँगको सहकार्य र समन्वयमा ति परियोजना अघि बढाइनुपर्छ । कृषि र पर्यटन विकासका लागि बनाइने त्यस्ता परियोजनाहरूलाई आधुनिकीकरण गर्नसके समृद्धि त्यत्ति टाढाको सपना हुनेछैन् भन्ने सन्देश दिन हाम्रो कसिलो प्रयास हुनेछ । यति हुँदाहुँदै हामी कृषि र पर्यटनबाहेक अन्य विषय उठान नगर्ने पक्षमा पक्कै छैनौँ । मुलुकको राजनीति, सामाजिक, आर्थिक, सुशासनलगायत समसामयिक विषयवस्तु उठानलाई पनि त्यत्तिकै महत्व दिनेछौँ । मुुलुकमा राजनीतिक परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि बदलिइरहन्छ। हिजोका दिनमा आमसञ्चारमाध्यमले लोकतन्त्र प्राप्ति, राजनीतिक संक्रमणकालको अन्त्य र दिगो शान्तिको वकालतमा लाग्नुपरेको थियो । तर, आजको सञ्चारमाध्यम नागरिकको अधिकार, मुलुकको सामाजिक एवम् आर्थिक विकासका मुद्दाहरुमा केन्द्रित हुनुपर्नेछ । यसका लागि सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह अनिवार्य हुन्छ। त्यसैले हामी निष्पक्ष पत्रकारिताप्रति निष्ठावान् रहँदै कसैप्रति आग्रह/पूर्वाग्रह नराखेर व्यावसायिक पत्रकारितालाई मूल मन्त्र ठान्नेछौँ । सोसियलटचखबरडटकम अनलाइन पोर्टल कृषि-पर्यटनसँगै लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य-तथ्य सूचना सम्प्रेषणमा सक्रिय रहिहरने विश्वास दिलाउन चाहन्छौँ । साइटटच मिडियाका तर्फबाट हाम्रा पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा कृतज्ञ रहनेछौँ । हाम्रो प्रयासले कृषि र पर्यटनमा आमनागरिकको जीवनस्तर, सोचाइ र समृद्धिमा योगदान पुग्नेछ भन्नेमा विश्वस्त छौँ । Shine Touch Media Pvt. Ltd. छापा तथा विद्युतीय सञ्चारमाध्यममा २१ वर्षसम्म निरन्तर काम गरेका अनुभवी र दक्ष सञ्चारकर्मीद्वारा स्थापित एउटा सशक्त सञ्चारमाध्यम हो । यसले सोसियलटचखबरडटकम अनलाइन समाचारकासाथै टेलिभिजनमा बजाइने सार्वजनिक तथा सन्देशमूलक सूचना सन्देश (PSA), विज्ञापन (Advertise), कृषि र पर्यटनसम्बन्धी बृत्तचित्र (Documentary), कृषिमा आधारित विशेष रिपोर्ट (Special Report), व्यक्तिगत भिडियो प्रोफाइल, विभिन्न शैक्षिक संस्था, व्यावसायिक र व्यापारीक घराना, व्यक्तिगत र पारिवारीक प्रोफाइल, व्यवसायको उन्नतिमा आधारित बृत्तचित्र, सन्देशमूलक टेलिसिरियल, म्यूजिक भिडियो एवं फिल्मलगायत सबैप्रकारका कार्य गर्ने लक्ष्यसमेत लिएको छ । यो सुखद अवसरमा आमपाठक, विज्ञापनदाता र शुभचिन्तक सबैको सदाशयताको कदर गर्दछौँ । भविष्यमा पनि तपाइहरुको रचनात्मक सुझाव र सहयोग हामीलाई अमूल्य हुनेछ । धन्यवाद !
Shine Touch Media Pvt. Ltd.
Baneshwor, Kathmandu, Nepal.
Email : shinetouchmedia@gmail.com
YouTube : Youtube/Shine Touch Media
Facebook : facebook.com/Shine Touch Media Pvt. Ltd.