नेपाल टेलिकमले असार ७ गतेसम्म सेवामा लाग्ने विलम्व शुल्क मिनाहा गर्ने

नेपाल टेलिकमले असार ७ गतेसम्म सेवामा लाग्ने विलम्व शुल्क मिनाहा गर्ने

काठमाडौँ । कोभिड- १९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ। कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतेदेखि यस्ता महशुलमा नियमानुसार विलम्ब शुल्क लागू हुने जनाएको छ।

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागू हुनेछ। नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टे अफर भने कायमै रहने जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७ सय ६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो।

ती स्थानहरुलाई नेपाल सरकारले कोभिड- १९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः २ महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ। यसैगरी कम्पनीले एफटीटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट सुरु गरेको छ।

कर्पोरेट