सफल कृषक बन्न यस्ता सुत्रहरू अपनाउने कि ?

सफल कृषक बन्न यस्ता सुत्रहरू अपनाउने कि ?

काठमाडौँ । कृषि उद्यमको सफलता कुनै संयोगले हुने कुरा होइन । यो त एउटा योजना, निरन्तर मिहेनत र बजारमुखी कृषि व्यवसायको तीव्र इच्छाको परिणाम हो । निर्वाहमुखी कृषि पद्धतिले गर्दा हाम्रो देशको कृषि नाफामूलक बन्न सकेन । जसले गर्दा आज हाम्रा किसानहरूले आफ्नै पेट भर्न पनि सकिरहेका छैनन् । गुजारामुखी कृषकहरूलाई परिवर्तन गरी कृषि उद्यमी बनाउनु सबभन्दा ठूलो चुनौती हो । कृषक परिवर्तनबाट मात्र कृषिमा परिवर्तन सम्भव छ । त्यसैले कृषि पेसालाई नाफा कमाउने उद्देश्यले गरिनुपर्छ । नाफा कमाउने उद्देश्यले कृषि व्यवसाय गर्ने व्यक्ति अथवा समूहलाई कृषि उद्यमी भनिन्छ । यस अन्तर्गत उत्पादन गर्ने, प्रशोधन गर्ने, बिक्री-वितरण गर्ने र सेवा प्रदान गर्ने जस्ता क्रियाकलापहरू पर्छन् । कृषि उत्पादनका साधनहरू भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र त्यसबाट धेरै मुनाफा कसरी कमाउने भन्ने कुरा उद्यमी किसानले जान्नुपर्ने हुन्छ ।

कृषि उद्यमीले उत्पादनका साधनहरूलाई आपसमा कुन स्तरमा मिलाउने ? अथवा साधनहरूलाई कुन अनुपातमा राख्ने ? उत्पादनका कस्ता प्रविधि अपनाउने ? उत्पादनलाई कसरी बेच्ने संक्षेपमा उत्पादन र वितरणका सबै साधनलाई कुशलतासाथ प्रयोग गरेर धेरैभन्दा धेरै नाफा कमाउनुपर्छ । त्यो कुरा पूरा गर्न कम खर्चमा धेरै उत्पादन गर्ने आर्थिक सिद्धान्तहरूको ज्ञानविना एउटा साधारण किसान परिवर्तन भएर कृषि उद्यमी बन्न सक्दैन । त्यसैले शिक्षित बेरोजगार युवाहरूलाई विशेष सुविधा र अनुदान दिएर कृषि उद्यमी बनाउनु आजको आवश्यकता हो । कृषि उद्यमीकरण गर्न बाली विमा आवश्यक हुन्छ । त्यसैगरी परम्परागत कृषि प्रसार र अनुसन्धान कार्यक्रमलाई परिवर्तन गरेर कृषि उद्यमीका लागि बजार र प्रविधि ग्यारेन्टी गर्ने खालको हुनुपर्छ । विदेश गएर प्रविधि र सीप लिएर आफ्नै देशमा केही गरौ भनी कृषिमा लगानी गरिरहेका सयौं युवा किसानहरूको भविष्य सुनिश्चित हुनुपर्छ । एउटा कुशल कृषि उद्यमी बन्नका लागि एउटा आँखा खेतमा र अर्को बजारमा हुनुपर्छ । यहाँ एकजना साधारण किसान परिवर्तन भएर उद्यमी बन्न उसले आफूमा गर्नुपर्ने परिवर्तन यस्ता हुनसक्छन् ।

मध्यम जोखिम : साधारणतया भविष्यमा हुनसक्ने नाफालाई ध्यानमा राखी वर्तमान अवस्थामा गरिने लगानीमा जोखिम हुन्छ । यतिमात्र हो, कुनै व्यवसायमा बढी जोखिम हुन्छ भने कुनै व्यवसायमा कम र कुनैमा मध्यम जोखिम हुन्छ । कम जोखिम लिने व्यक्तिहरू व्यवसायमा लगानी गर्नुभन्दा पैसा आफैसँंग राख्ने या बैंकमा राखी कमै भए पनि व्याजमा सन्तुष्टि लिने गर्छन् । अर्कोतर्फ बढी जोखिम लिने व्यक्तिहरू आफ्नो क्षमताभन्दा बढी अन्धाधुन्द तरिकाले बैंकबाट या साहुबाट ऋण लिएर पनि लगानी गर्छन् । यस्ता कार्यबाट एकैचोटी धेरै आय पनि हुनसक्छ र साँवा नै डुब्ने र टाट पल्टिने डर पनि भइरहन्छ । तर सफल कृषि उद्यमी भने यी दुबै प्रकारका जोखिमभन्दा भिन्न मध्यम खालको जोखिम लिने गर्छन् ।

आत्मविश्वासी : एउटा भनाइ छ, ‘यदि तपाईं आफैमा विश्वास छैन भने अरु कसले तपाईलाई विश्वास गर्ला ।’ उद्यमीहरू आफ्नो खुबी र क्षमतप्रति बढी विश्वास गर्छन् । उनीहरू अरुसंँग प्रतिस्पर्धा गर्न डराउँदैनन् । त्यसैले त अरुले कठिन देखेको काम उद्यमीहरू सजिलैसँंग गरिदिन्छन् । उद्यमीहरू आफ्नो काम असफल हुनुको कारण पत्तालाई अरु बढी आत्मविश्वाससाथ काम गर्छन् । आत्मविश्वास हुनुमा विभिन्न कारणले प्रभाव पारेको हुन्छ । जस्तै प्रविधिको जानकारी, अरुबाट हौसला र समर्थन आदि । अर्कातर्फ जोसंँग आत्मविश्वास छैन, जो अरुको भरमा काम गर्छन्, त्यस्ता व्यक्ति काम बिग्रेमा भाग्यलाई दोष दिने गर्छन् । आफ्नो क्षमताप्रति विश्वास गर्नु र आत्मविश्वाससाथ काम गर्न सफल कृषि उद्यमी बन्नका लागि आवश्यक हुन्छ ।

लक्ष्य निर्धारण : सफल उद्यमीले कुनै पनि कार्य गर्दा योजनाबद्ध रूपमा गर्नुपर्छ । सफल कृषि उद्यमीले आफूले के उत्पादन गर्ने, कहिले उत्पादन गर्ने, त्यो काम पूरा गर्न के—के गर्ने भन्ने कुरामा स्पष्ट रूपमा अल्पकालीन, मध्यम र दीर्घकालीन लक्ष्य निर्धारण गरी कार्य गर्छन् ।

सूचनाको खोज : आफ्नो उद्योग व्यवसायसँंग सम्बन्ध्िात सूचना वा जानकारीको बारेमा उद्यमीले धेरै चासो राख्नुपर्छ । आफ्ना ग्राहकहरू को-को हुन्, उनीहरूको रुचि कस्ता उत्पादनमा छ, बजार कहाँ छ, मूल्य के छ, प्रविधि कहाँ छ, सरकारी तथा गैरसरकारी या निजी क्षेत्रले के सहयोग दिएको छ ? आदि कुराहरूमा सफल कृषि उद्यमीले धेरै चनाखो हुनुपर्छ ।

धैर्यता : कृषि उद्यम गर्नासाथ सफल भइन्छ भन्ने ग्यारेन्टीचाहिं हुँदैन । यदि सुरुमा असफल भए पनि असफल हुनुका कारण खोज्दै धैर्यतासाथ अघि बढ्नुपर्ने हुन्छ । त्यसैले जोसँग धैर्यता छैन, उसले कृषि उद्यम पेसा गर्नु उपयुक्त हुँदैन । एक-एक हात २५ ठाउँ खनेर पानी आउँदैन, तर एकैठाउँ २५ हात खनेको खण्डमा पानी आउन सक्छ । कृषि उद्यम पनि त्यही सिद्धान्तमा आधारित छ । गर्दै-सिक्दै अगाडि बढ्दै गर्ने उद्यमी अवश्य सफल हुन्छन् ।

निर्णय क्षमता : कृषि उद्यम स्थापना र सञ्चालन गर्ने क्रममा विभिन्न समस्या आइपर्छन् र ती समस्याहरूको समाधानका लागि उचित समयमा उचित प्रकारको निर्णय गर्नुपर्ने हुन्छ । यसरी निर्णय गर्दा खास समस्या के हो, त्यो समस्याको कारण के-के हुन् र यी समस्याका समाधान कुन-कुन तरिकाबाट गर्न सकिन्छ भनेर विभिन्न वैकल्पिक उपायहरूको खोज गर्नुपर्छ ।

उद्यमको समुचित प्रबन्ध : कृषि उद्यमलाई दिगो रूपमा नाफामूलक बनाउन व्यवसायको समुचित प्रबन्ध गर्नु नितान्त आवश्यक कुरा हो । कृषि उद्यम व्यवसायमा खरिद तथा बिक्री प्रक्रिया साथसाथै चल्छन् । उत्पादनको लागि विभिन्न उत्पादन सामग्रीको खरिद गर्नुपर्ने हुन्छ । कहिले ? कहाँबाट ? र कसरी किन्ने भन्ने कुरा उद्यमीले समयमा नै निर्णय लिन सक्नुपर्छ । त्यस्तै उत्पादनलाई बजारमा बेच्नुपर्ने हुन्छ । त्यसकारण कहिले ? कहाँ ? कसद्वारा बिक्री-वितरण गरे धेरै आम्दानी लिन सकिन्छ भन्ने कुरा उत्पादकले समयमा नै सोच्नुपर्ने हुन्छ ।

सफलताको कथा