शेयर कारोबारमा लगानीकर्ता प्रविधिमैत्री बन्नुपर्छ : अध्यक्ष पोखरेल

शेयर कारोबारमा लगानीकर्ता प्रविधिमैत्री बन्नुपर्छ : अध्यक्ष पोखरेल

सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि लागि गत चैत ११ गतेदेखि देशब्यापीरूपमा लकडाउन गरेको थियो । लकडाउन लागु भएसँगै धितोपत्रको दोस्रो बजार पनि बन्द रह्यो । असारदेखि भने सरकारले लकडाउन केही खुकुलो बनाउने निति लियो । लकडाउन खुकुलो भएसँगै शेयर बजारमा लगानीकर्ताहरूको उत्साह देखियो । हाल उपत्यकामा निषेधाज्ञा जारी छ ।

निषेधाज्ञा भएपनि शेयर बजार बन्द नगर्ने नेपाल धितोपत्र बोर्डको निर्णयपश्चात शेयर बजार भने सञ्चालित छ । नेप्से परिसूचक घटबढ भइरहेको छ । शेयरमा लगानीकर्ताहरू भने लगानीका लागि उत्साहित देखिन्छन् । लगानीकर्ताहरू किन उत्साहित छन् ? शेयरमा किन लगानी गर्ने ? यि र यस्तै बिषयमा नेपाल पुँजी वजार लगानी कर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलसँग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

अहिले शेयर कारोबारको अवस्था कस्तो छ ?

कोरोना रोकथामका लागि पहिलोचरण लगाइएको लकडाउनका कारण कारोबार बन्द भयो । यसले बजारमा केही असर भने पक्कै पारेको थियो । अहिले पनि निशेधाज्ञा जारी छ । निशेधाज्ञा भएपनि अहिले शेयर कारोबार रोकिएको छैन् । अहिले शेयर बजारमा लगानीकर्ताहरू बढेका छन् । लगानीकर्ताहरू लगानीका लागि उत्साहित छन् । शेयर गतिबिधिहरु बढेका छन् । सम्रगमा अहिले शेयर बजारको अवस्था राम्रो देखिन्छ ।

शेयर बजारमा लगानीकर्ताहरू बढ्नुको कारण चाहीँ के हो ?

अहिले कोरोनाका कारण पर्यटन, ब्यबसाय, कृषि जस्ता क्षेत्रहरु ठप्प छन् । अन्य क्षेत्रमा लगानी गर्ने बाताबरण अहिलेको अवस्थामा छैन । अन्य क्षेत्रमा ब्यक्तिहरुसंग भएको पैसा लगानी गर्ने बातावरण नभएकाले शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । अहिलेको समयमा अनलाइन कारोबार गर्न सकिने भएकाले पनि लगानीकर्ताहरु बढेका हुन् ।

शेयरमा लगानी गर्दा के कस्ता कुरामा ध्यान दिनु पर्दछ र ?

शेयरमा लगानी गर्नुपुर्व धेरै कुरामा ध्यान दिनुपर्दछ । लगानी गर्दा नाफा कमाउनका लागि छिटो छिटो लगानी गर्नुहुदैन । शेयरमा छोटो र लामो समयका लागि लगानी गर्न सकिन्छ । कम्पनी हेरेर त्यसमा पनि कति समयको लागि लगानी गर्ने स्पष्ट हुनुपर्दछ । शेयरका लगानीकर्ताहरु धेरैजसो अरुको सुझावमा लगानी गर्ने गर्दछन् । लगानीकर्ताहरुले भने शेयरबारे स्पस्ट बुझेको हुनुपर्दछ । शेयरमा लगानी गर्दा प्रतिफल भने अवश्य आउछ ।

शेयर लगानी गर्नका लागि उचित कम्पनी कसरी छनोट गर्न सकिन्छ र ?

शेयरमा लगानी गर्नका लागि कम्पनीबारे राम्रोसंग बुझनुपर्दछ । कम्पनीको बार्षिक वासलात हेर्नु पर्दछ । त्यस्तै कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, कूल सम्पति जस्ता आधारभुत कुराहरुको ख्याल गर्नुपर्दछ ।

पछिल्लो समय शेयर कारोबार अनलाइन मार्फत भइरहेको छ ,यो कत्तिको प्रभावकारी छ  ?

शेयर कारोबारमा अहिले प्रबिधिले फड्को मारेको छ । बिद्युतीय माध्यमबाट नै कारोबार गर्ने अवस्था आएको छ । अब कारोबार गर्न ब्रोकर खोजिरहने अवस्था छैन । निषेधाज्ञाको समयमा पनि शेयर कारोबार रोकिएको छैन । यो लगानीकर्ताहरुका लागि सकारात्मक कुरा हो । तर केहि कमजोरी भने अझै पनि छन् । लगानीकर्ताहरु बिद्युतीय प्रणालीमा अभ्यस्त भएका छैनन । बैंक तथा बित्तिय संस्थासंग जोडिएर कारोबार गर्नुपर्ने भएकाले केहि समस्या आइरहन्छन् । शेयर किनबेच अनलाइन मार्फत गर्न सकिए पनि बित्तिय संस्थाहरुमा पैसा जम्मा गर्ने अहिले स्थिति छैन। त्यसकारण प्रबिधि मार्फत कारोबार गर्न समग्र बजार नै प्रबिधिमैत्री बनाउन सके प्रभावकारी हुन्छ ।

अन्तर्वार्ता