विदेशमा पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु सिधैं घर जान पाउने

विदेशमा पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु सिधैं घर जान पाउने

काठमाडौँ । विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले नेपाल आएर होटल क्वारेन्टिनमा बस्नुनपर्ने भएको छ ।

सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण भए सिधै घर जान पाउने बताएका हुन् ।

कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ । अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै मन्त्री भट्टराई ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताए ।

विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए ।

पर्यटन