इलाम । कोरोना महामारी थिएन भने इलामको माईजोगमाई गाउँपालिका–१ का दीपजलन लिम्बुले यतिबेला भारतमा पसिना बगाउँदै हुन्थे । तर अहिले उनि धान खेतमा व्यस्त छन् । कोरोना आयो संसारलाई ध्वस्त बनायो । तर दीपजलन लिम्बू भने आफ्नो बाँझो खेत हराभरा बनाउन लागि परेका छन् ।
उनि भन्छन् ‘वर्षमा मेरो ६ महिना भारतमा नै बित्थ्यो, तर कोरोनाले अब गाउँघरमै रोक्छ जस्तो छ ।’ अहिले भने कोरोना महामारीका कारण भारत जान ठप्प छ । उनि जस्तै सो वडाका अधिकंश युवाहरु भारतमा कमाई गर्न जाने गर्दथे । नेपालका युवा भारतको ग्यान्टोक, सिक्किम, सिलगुडी, चेन्नाई, केरला, मुम्बई, दिल्ली, हाइदराबाद लगायतका ठाउँमा काम गर्न जान्थे ।
तर कोरोनाले अहिले यी सबै ठाउँ युवाका लागि आफ्नै गाउँ भएको छ । धान रोप्ने समयमा समेत कमाई हुन्छ भनेर भारत जाने युवाहरु यसपटक भने नेपालमै बसेर खेती विस्तारमा लागिपरेका छन् ।
माईजोगमाई–५ का राजेन्द्र सोराली भन्छन्, ‘ढुक्कै भारत नै गएर कमाउँथें, त्यही रकम नै घरबार चलाउने आम्दानीको मुख्य स्रोत बनेको थियो, अहिले भने छुट्टीमा घर आएर फर्कने समयमा नै लकडाउन भयो, यतै बसियो, खेतिपातीमा लागियो ।’
कोरोनाले विश्वलाई तहसनहस बनाईरहेको अवस्थामा विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काई यहीको माटोसंग नजिक बनाउनु सकरात्मक पाटो रहेको छ ।