कोरोना भाइरसका कारण विश्वभर ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाए

कोरोना भाइरसका कारण विश्वभर ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाए

काठमाडौँ । कोरोना भाइरस (कोभिड- १९) संक्रमणका कारण विश्वभर हालसम्म ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै मेक्सिकोमा मात्रै १ हजार ३०० स्वास्थ्यकर्मीको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलको प्रतिवेदनले जनाएको छ ।

यस्तै, अमेरिकामा १ हजार ७७, बेलायतमा ६४९, ब्राजिलमा ६३४ र भारतमा ५७३ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । कतिपय मुलुकमा त स्वास्थ्यकर्मीको मृत्यु दर्ता नै नभएकाले यो संख्या बढ्नसक्ने एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ ।

महामारीको समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी सबैभन्दा सुरक्षित रहेर कार्यक्षेत्रमा खटिनुपर्नेमा उनीहरू नै बढी प्रभावित हुनु दुःखद भएको एम्नेष्टीका आर्थिक तथा सामाजिक ज्याय मामिला प्रमुख स्टेभ कोकबर्नले बताए ।

यसैबीच, ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । त्यहाँ १ लाख २४ हजार ६१४ जनाको मृत्यु भइसकेको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६२ लाख ८ हजार ६९० पुगेको छ । ८ लाख ६७ हजार २१९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मात्र ६१ लाख ४९ हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ८६ हजार ७८५ जनाले ज्यान गुमाएका छन् । भारतमा ३८ लाख ५३ हजार ४०६ जनामा संक्रमण देखिएको छ । त्यहाँ ६७ हजार ३७६ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

मध्यपूर्वी मुलुकहरूमा मात्र संक्रमणका कारण ५० हजार बढीको मृत्यु भइसकेको जनाइएको छ ।

ब्रेकिङ्ग विश्व