कोरोना रोकथाममा सरकार अझै गम्भीर बन्न नसकेको काँग्रेसको आरोप

कोरोना रोकथाममा सरकार अझै गम्भीर बन्न नसकेको काँग्रेसको आरोप

काठमाडौँ । नेपाली काँग्रेसले सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर बन्न नसकेको आरोप लगाएको छ । मुलुकका अधिकाँश जिल्लामा गरिएको निषेधाज्ञाको निरन्तरताले संक्रमण बढ्ने क्रम कम नभएको र आर्थिक सामाजिक संकट चुलिदै गएको काँग्रेसको ठहर छ ।

पार्टीको कोभिड- १९ अनुगमन समितिले विहीवार जारी गरेको प्रेस नोटमा सरकारले निषेधाज्ञाप्रतिको निर्भरता बढाएर कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोजेको उल्लेख छ ।

समितिले केही दिनअघि १३ बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएपनि जनतालाई आश्वस्त पार्ने गरी सरकारले कुनै तयारी नगरेको काँग्रेसको आरोप छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण, उपचार व्यवस्थापन, आर्थिक-सामाजिक संकट कम गर्न अल्पकालिन र दीर्घकालिन कार्ययोजना सार्वजनिकलगायतका माग काँग्रेसले अघि सारेको थियो ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समूचित व्यवस्था गर्न र नागरिकहरूको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न काँग्रेसले पुनः माग दोहोर्‍याएको छ ।

ब्रेकिङ्ग राजनीति